Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images
बिश्लेषण : प्रधानमन्त्री–सभामुख टकराव 

चेपुवामा प्रतिनिधिसभा : "बर्खे अधिवेशन समय नजिकिदै, चालु बन्दको तयारी"  

चेपुवामा प्रतिनिधिसभा : "बर्खे अधिवेशन समय नजिकिदै, चालु बन्दको तयारी"  

सोमवार, बैशाख ६ २०७८

  • 901
    SHARES

  • चेपुवामा प्रतिनिधिसभा : "बर्खे अधिवेशन समय नजिकिदै, चालु बन्दको तयारी"  

    काठमाडौँ, बैशाख ।  सर्वोच्च अदालतले विघटन बदर गरेपछि गत फागुन २३ गते सुरु भयो । अहिलेसम्म प्रतिनिधिसभा बैठक  ४५ दिनको अवधिमा नौ पटक बसिसकेको छ  ।  उता सरकारलाई प्रतिनिधिसभाप्रति बढी उत्तरदायी बनाउने भूमिका निर्वाह गर्न नसकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको पनि आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले नै पनि सभामुख सापकोटाविरुद्ध लगातार अभिव्यक्ति दिइरहेका छन् ।

    स्रोतका अनुसार, बालुवाटारमा शनिबार आफैंले बोलाएको सर्वदलीय बैठकमा ओलीले आवश्यक परे सभामुख सापकोटालाई हटाउनुपर्नेसम्मको प्रस्ताव राखे । यो प्रस्तावले उनी सापकोटासँग कति रुष्ट छन् भन्ने प्रस्ट्याएको बताइएको छ । 
     ओलीले प्रतिनधिसभाले बिजनेस नपाउनुमा सापकोटालाई दोष दिएका छन् । बैठकमा सहभागी कांग्रेसका एक नेताका अनुसार ओली अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई अघि नबढाएकामा सापकोटासँग बढी रुष्ट देखिन्थे ।

    सभामुख सचिवालय स्रोतले भने एमसीसी सम्झौताबारे प्रधानमन्त्री ओलीले औपचारिक रूपमा कहिल्यै कुरा नगरेको जनाएको छ । सापकोटा र ओलीबीचको व्यक्तिगत टकरावले प्रतिनिधिसभा चेपुवामा परेको छ । 
    ओली र सापकोटाबीचको द्वन्द्वलाई पूर्वसभामुख दमननाथ ढुंगाना सत्तारूढ पार्टी फुटको असरका रूपमा अर्थ्याउँदै आएका छन् । उनले सार्वजनिक रुपमा नै ब्यक्र गरे,  ‘प्रधानमन्त्री र सभामुखले नै संविधान मानेनन् भने उहाँहरूलाई कसले सम्झाउने ?’ 
    उनले भने, ‘यसबाट संसदीय व्यवस्थाप्रति नै वितृष्णा फैलने खतरा छ ।’ उनको तर्क छ, अहिले सबै मिलेर संविधान धुजाधुजा बनाउने काम भएकोछ , उनले भने, ‘केही लागेन भने सभामुखले कुर्सीमा बसेर सरकारलाई रुलिङ गर्नुपर्छ ।’

    संसद् सञ्चालनका लागि सरकारले बिजनेस दिन्छ । बैठक चालु भएको डेढ महिना बित्न लाग्दा पनि सरकारले प्रतिनिधिसभाबाट निर्णय गराउने गरी विधेयक पेस गरेको छैन तर ओलीले प्रतिनिधिसभामा विधेयक र अनुमोदनका लागि दर्ता भएका सम्झौता अघि नबढ्नुमा सभामुख सापकोटालाई दोषी देखिरहेका छन् । 
    ओलीले तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि पनि एमसीसी सम्झौता अनुमोदनका लागि अघि नबढाएको आरोप लगाएका थिए । उनले आफ्नै पूर्वपार्टी नेकपामा ‘विवादास्पद’ बनेको एमसीसी सम्झौता अघि नबढाएको भन्दै गत बुधबार वक्तव्य दिँदै सापकोटालाई दोषी करार गरे ।


    डेढ वर्षअघि ओलीले तत्कालीन सभामुख महराले एमसीसी सम्झौता अनुमोदन प्रक्रिया अघि नबढाएको अभिव्यक्ति दिएका थिए । त्यसपछि ओली र तत्कालीन सभामुख महराबीच व्यक्तिगत टकराव सार्वजनिक भएको थियो । 
    यही विषयलाई लिएर अहिले सभामुख सापकोटासँग पनि ओलीको टकराव छ । सांसदले सरकारले प्रतिनिधिसभालाई बिजनेस नदिएर संसद्लाई पङ्गु बनाउन खोजेको बताउँदै आएका छन् । 
    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाले बिजनेस नपाउनुमा सापकोटालाई दोषी ठहर्‍याइरहेका छन् । काम नपाएपछि प्रतिनिधिसभाको बैठक एक साताको अन्तरमा तोकिँदै आएको छ । हिउँदे अविधेशनमा कुनै पनि विधेयक पारित भएको छैन ।

    नेकपा एकतापूर्वको अवस्थामा पुगेपछि माओवादी केन्द्रको समर्थनमा अडेको सरकारलाई प्रतिनिधिसभामा पेस गरेको विधेयक पारित नभए नैतिक संकटमा पर्ने चिन्ता छ । प्रतिनिधिसभाको अर्को बैठक भोलि  , मंगलबार,  बस्दैछ । आठौं अधिवेशन आह्वान गर्ने समय नजिकिँदै गरेकाले चालु बैठक कुनै विधेयक पारित नगरी अन्त्य हुने सम्भावना बढेको संसद् सचिवालयका एक अधिकारीले बताए ।

    ओलीको असन्तुष्टि के त ? 

    महाराको बहिर्गमनपछि प्रधानमन्त्री ओली माओवादीलाई सभामुख दिने पक्षमा थिएनन् । पार्टीको आन्तरिक दबाब झेल्न नसकेपछि उनले सापकोटालाई सभामुखमा स्वीकारेका थिए । ओलीले यसअघि पनि पटक–पटक सापकोटाको भूमिकामाथि प्रश्न गर्दै आएका छन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सरकारले जारी गरेका अध्यादेश पेस गर्न सापकोटाले सहयोग नगरेको बुझाइ ओलीको छ । 
    उनले संविधानअनुसार प्रतिनिधिसभा बैठकको पहिलो दिनमै अध्यादेश पेस गर्न नपाएको भन्दै सभामुखको सार्वजनिक रूपमा आलोचना गर्दै आएका छन् ।

    सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सापकोटा अदालत गएकामा पनि ओली रुष्ट छन् । सापकोटामाथि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कुरा नकार्न नसक्ने आरोप लाग्ने गरेको छ । नेकपा विभाजनपछि यसलाई ओलीले झन् ठूलो मुद्दा बनाएका छन् । 
    ओली संसद्मा उपस्थित नभई बाहिरैका सार्वजनिक कार्यक्रममा सापकोटामाथि खनिने गरेका छन् । उनीहरूबीचको द्वन्द्वले संसदीय व्यवस्थाप्रति नै नकारात्मक सन्देश दिएको विज्ञहरू बताउँछन् । सभामुखको हैसियतमा सापकोटाले ओलीलाई प्रतिनिधिसभामा आउनैपर्ने परिस्थिति बनाउन सकेका छैनन् । यसबाट कार्यपालिका र व्यवस्थापिका नेतृत्वबीचको व्यक्तिगत टकरावले कानुन निर्माणको सर्वोच्च थलो प्रतिनिधिसभाको डेढ महिनादेखिको बैठकको औचित्यमाथि प्रश्न उठ्न थालेको छ ।

    ओलीले विधेयक अघि बढाउँदा सरकारलाई प्रतिनिधिसभाले पार्ने अप्ठ्यारोभन्दा पनि सभामुखलाई दोष थुपारेर विषयान्तर गराउन खोजेको संसद् सचिवालयका अधिकारीको भनाई छ ।  सापकोटा सभामुख भएयता कार्य व्यवस्था परामर्श समितिको १४ वटा बैठक बसेको छ । सभामुखनिकट स्रोत भन्छ,  कुनै पनि बैठकमा विभागीय मन्त्री वा एमालेका सांसदले एमसीसी सम्झौताका विषयमा कुरा उठाएका छैनन् । सापकोटा र ओलीबीच गत चैत १५ गते ८ महिनापछि भएको औपचारिक भेट गरेका थिए । उक्त भेटमा पनि एमसीसीका विषयमा कुराकानी नभएको स्रोतको दाबी छ ।

    ‘जुन ठाउँ र बेला कुरा गर्नुपर्ने हो, त्यहाँ नगरी प्रधानमन्त्रीले नै बाहिर–बाहिर बोल्दा के सन्देश जाला भन्ने बुझ्नुपर्ने हो,’ संसद् सचिवालय स्रोतले भन्यो ।अहिलेको राजनीतिक व्यवस्थाप्रति सम्मान गर्नेहरूको कमी भएकाले यस्तो परिस्थिति आएको उनले बताए । ‘प्रतिपक्ष संवैधानिक नियुक्तिमा भाग पाएर बसेको छ । सत्तापक्ष झगडामा अल्झिएको छ,’ गुरुङले भने, ‘यस्तो अवस्थामा संसद्को कामकारबाही कसरी प्रभावकारी हुन्छ ?’

    अरू थन्क्याएर एमसीसीको चर्चा :

    संघीय निजामती, लोकसेवा र नागरिकतालगायत विधेयक समितिमा छलफल भएर प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएका छन् । प्रतिनिधिसभाअन्तर्गत ३८ र राष्ट्रिय सभाअन्तर्गत १९ वटा विधेयक विचाराधीन छन् । राष्ट्रिय सभाबाट पारित गरेर प्रतिनिधिसभामा पुगेका ६ वटा विधेयक छन् । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पेस गर्न तयारी २ वटा विधेयक छन् । यी विधेयक प्रतिनिधिसभाको बिजनेस बन्न सकेका छैनन् ।

    शनिबारको सर्वदलीय बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसीबाहेक पनि विधेयकहरू प्रतिनिधिसभामा प्रक्रियामा रहेको बताए । ओलीले भने एमसीसीको विषय सर्वदलीय बैठकमा उठाएर सापकोटामाथि थप कटाक्ष गरेका छन् । 
    एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई चालु अधिवेशनमा विधेयक पारित हुने सम्भावना नभएको बताउँछन् । ‘विधेयकका विषयमा केही समस्या छन्,’ उनले भने, ‘अब बर्खे अधिवेशनसम्म कुर्नुपर्छ ।’

    सोमवार, बैशाख ६ २०७८०८:३८:१७

    डेमो खबर

    सम्बन्धित समाचार