images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images
कांग्रेस १४ औँ महाधिबेशन

नेता गगन थापाले भने : "एमालेको ‘ओलीवेशन’ हो, हाम्रो अधिवेशन "

नेता गगन थापाले भने : "एमालेको ‘ओलीवेशन’ हो, हाम्रो अधिवेशन "

शनिवार, मंसिर ११ २०७८

  • 1.7K
    SHARES

  • नेता गगन थापाले भने : "एमालेको ‘ओलीवेशन’ हो,  हाम्रो अधिवेशन "


    काठमाडौँ , मंसिर ।  नेकपा एमालेको चितवनमा भइरहेको अधिबेशनलको रुपलाई ईगिंत  गर्दै कांग्रेस नेता गगन थापाले  त्यो एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ‘ओलीवेशन’ भइरहेको बताएका छन् । ‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन् । त्यहाँ सबै बा ! बा ! मात्रै भन्छन् । आज नारायणी किनारमा अधिवेशन भइरहेको छैन, कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ,’ उनले भने । 
    नेता थापाले काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै कांग्रेसको अधिवेशन र एमालेको ओलीवेशनलाई लिएर अलमलमा नपर्न आग्रह गरे ।

    ‘हिजो मेरो टोलका अभिभावकले सोध्नुभयो । एमालेले यत्रो ७७ जिल्लाको अधिवेशन सक्यो, थाहै भएन । आज नारायणी किनारमा कति ठूलो सभा भयो । अधिवेशन त यस्तो पो हुनुपर्छ । तिमीको हेर्‍यो, उता भिडेको छ, यता बाझेको छ, जताततै लफडै–लफडा छ,’ थापाले आफूले जवाफमा काकालाई भनेको सुनाउँदै भने, ‘एमाले र हामीबीचमा अलिकति फरक छ । हाम्रो अधिवेशन हो, त्यो ओलीवेशन हो । अधिवेशन र ओलीवेशनमा फरक छ । 
    हाम्रो पार्टीको अधिवेशनमा कार्यकर्ताहरू सहभागी हुन्छन् । हरेक कार्यकर्ता आफैंमा एउटा स्वतन्त्र व्यक्ति हुन् । हरेक स्वतन्त्र व्यक्तिको आफ्नो मत छ, जहाँ मत हुन्छ, त्यहाँ मतभेद हुन्छ, त्यहाँ मतान्तर हुनसक्छ । तर, ओलीवेशनमा त्यहाँ कोही पनि स्वतन्त्र कार्यकर्ता छैन ।’

    images

    नेता थापाले कांग्रेसको जिल्ला अधिवेशनबारे ठाउँ–ठाउँका समाचार आउँदै गर्दा नआत्तिन आग्रह गरे । ‘साथीहरू कांग्रेसको अधिवेशनको समाचार आउदै गर्दा नआत्तिनुहोला । कही कतै सीमाहरू नाघिएका छन् । तर, यो हाम्रो पार्टीको अधिवेशन हो । हामीबीच मतभेद हुन्छ, मतान्तर हुन्छ । त्यही बीचबाट हामी कुशल नेतृत्व चयन गर्छौ,’ थापाले भने, ‘त्यसैले कांग्रेसमा यसलाई सामान्य रुपमा लिनुपर्छ । यो हाम्रो पार्टीभित्रको लाकतान्त्रिक अभ्यास हो ।’

    उनले १४ औँ महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्न सक्नुपर्ने बताए । ‘म जहाँ उभिएको छु, त्यहाँ किन उभिएको छु ? प्रत्येकसँग आफ्नो कारण छ, मसँग पनि कारण छ,’ उनले भने, ‘पार्टीको नेतृत्व भनेको बगेको नदीजस्तो हुनुपर्छ, जमेको पोखरीजस्तो होइन । त्यसैले काठमाडौंमा सबुजकृष्ण बानियाँलाई तपाईले काठमाडौंको नेतृत्वमा मत हाल्दै गर्दा त्यो मत मंसिर २४ गते हुने केन्द्रीय महाधिवेशनमा नेतृत्वको पक्षमा उभिने मत हो । त्यसकारणले म यहाँ उभिएको छु ।’

    नेता थापाले संसारभरि लोकतान्त्रिक पार्टीमा एक पटक सभापतिमा प्रतिस्पर्धा गरिसकेपछि हारेरजिते विश्राम लिनुपर्ने अभ्यास रहेको भन्दै नेतासँग आफूले त्यही आग्रह गरेको सुनाए । ‘संसारभरिको डेमोक्रेटिक अभ्यासमा सभापतिमा प्रतिस्पर्धा गरिसकेपछि स्वभाविक रुपमा पार्टीको राजनीतिबाट विश्राम लिनुपर्छ । र आमनिर्वाचनमा गइसकेपछि पार्टीले चुनाव हार्‍यो भने पनि पार्टीको सभापतिबाट राजीनामा दिनुपर्छ र विश्राम लिनुपर्छ,’ उनले भने, ‘तर हामी कहाँ त्यस्तो अभ्यास हुन सकेन । 
    मैले त १३ औँ महाधिवेशनमै हिम्मत देखाएको हुँ । मैले मेरो उमेरका नेताहरूलाई यही राखेर भनेको थिएँ, तपाईंहरू आँट गर्नुहुन्छ भने ठीक छ, म तपाईंहरूको झोला बोक्छु, होइन भने तपाईंहरूले मेरो झोला बोक्नुपर्छ । कोही न कोहीले पार्टीको नेतृत्वका लागि दाबी गर्नुपर्छ । त्यसैले यो अधिवेशनबाट हामीले कांग्रेसको मूल अनुहार बदल्न सक्छौँ कि सक्दैनौँ भन्ने मुख्य कुरा हो ।’

    नेता थापाले नेपाली जनताले अब भरोसा गर्न योग्य नेतृत्व खोजिरहेको बताए । ‘नागरिकलाई अब चुनाव जित्ने कुरा होइन, नागरिकलाई अब भरोसा चाहिएको छ । यो यति लामो १२र१५ वर्ष लामो संघर्षपछि नागरिकले अब एउटा भरोसा खोजेका छन् । युवाहरूलाई मेरो जीवनकालमा यो देश केही बदलिन्छ भन्ने विश्वास चाहिएको छ । त्यो विश्वास दिनसक्ने नेपाली कांग्रेसको नेतृत्व चाहिएको छ,’ उनले भने, ‘अहिले कांग्रेसको प्रत्येक कार्यकर्ताले सोच्ने बेला आएको छ । 
    हामी अरुबेला भनिरहेका हुन्छौँ, देश बदल्नुपर्छ, पार्टी बदल्नुपर्छ भनेर । अनि महाधिवेशनमा म कुनै व्यक्तिलाई सात पटक प्रधानमन्त्री बनाउनका लागि पार्टीको सभापति बनाइराख्छु भन्ने हो भने त्यसरी बदलाव ल्याउन सकिन्छ श्र’

    उनले कांग्रेसको अबको नेतृत्वले ३५ लाख मतदाताको विश्वास जित्न सक्नुपर्ने बताए । ‘कांग्रेसको क्रियाशील संख्या जम्मा १० लाख मात्रै हो । हाम्रो मतदाता ३० लाख छन् । एक्लै बहुमत ल्याउनका लागि कांग्रेसले अब १५ लाख मत बढाउनुपर्छ,’ उनले भने, ‘१० लाख क्रियाशीललाई हामी झोला बोकाउँला, झन्डा बोलाउँला । बाँकी रहेका २० लाख मान्छे हामीले भन्ने वित्तिकै झन्डा बोक्न तयार छैनन् । तिनका लागि भरोसायोग्य नेतृत्व चुन्नसक्नुपर्छ ।’

    उनले त्यहीकारण परिवर्तनको पक्षधरमा उभिएका नेताहरूका बीचमा एकता गराउन लागिरहेको बताए । ‘हामी हाम्रो उमेर समूहका साथीहरू भनिरहेका छौँ, यो पटक हाम्रो सबै आकांक्षाहरू त्याग्न तयार छौँ । तर, पार्टीको नेतृत्व बदल्छु भनेर संकल्प गरेर मैदानमा आउनुभएका नेताहरूबीच एकता हुनु जरुरी छ । एउटा समझदारी आवश्यक छ । त्यो समझदारी कसको नेतृत्व हुँदा न्याय हुन्छ ? जायज हुन्छ भनेर साझा नेतृत्व चयन हुनुपर्छ,’ उनले भने ।

     

    शनिवार, मंसिर ११ २०७८०८:२४:१६

    डेमो खबर

    सम्बन्धित समाचार