images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

काठमाडौँमा समावेशी तीज मनाउँदै

काठमाडौँमा समावेशी तीज मनाउँदै

बिहिवार, भाद्र २४ २०७८

  • 757
    SHARES

  • काठमाडौँमा समावेशी तीज मनाउँदै

    काठमाडौँ, भदौ । रामेछापकी सरस्वती केसीले विगत दश वर्षदेखि काठमाडौँमा तीज मनाउँदै आउनुभएको छ । उहाँलाई गाउँको भन्दा शहरको तीज रमाइलो लाग्छ । सानो छँदा आमासँग शहरको तीज हेर्न आउने सरस्वतीलाई अहिले पनि उत्तिकै रमाइलो लाग्छ । गाउँघरमा अहिले पनि तीजलाई परम्परागत रुपमा नै मनाउने गरिएको केसी बताउनुहुन्छ । नेपाली हिन्दु नारीले भाद्र शुक्ल तृतीयादेखि पञ्चमीसम्म मनाउने तीजमा भगवान शिवको आराधना गर्नुका साथसाथै नाचगान तथा मनोरञ्जन गर्ने गर्छन् ।

    पहिले पहिले हिन्दू महिलाहरुले मात्र मनाउने यस पर्व आजकल अन्य धर्म र समुदायका महिलाले पनि हर्षोल्लासका साथ मनाउन थालेको काठमाडौँ महानगरपालिका वडा नम्वर १७ की स्थानीय यशोदा श्रेष्ठ बताउनुहुन्छ । आफू नेवारी समुदायको भएपनि बाल्यकालदेखि नै तीज गीत धेरै मनपर्ने यशोदा सुनाउनुहुन्छ । यस समुदायका नारीहरु तीजमा गरगहनामा सजिएर नाचगान गरेपनि थोरैले मात्र ब्रत वस्ने गरेको उहाँको अनुभव छ । श्रेष्ठले भन्नुभयो, पहिलेको जस्तो रमाइलो गीत अहिले छैन, दर खाने र खुवाउने प्रचलन पनि फेरिएको छ, आम्दानी कम हुनेलाई तीज मान्न पनि कठीन हुन्छ महङ्गा सारी र सुनका गहना देखाई तीज आउनुभन्दा एक महिना अघिदेखि पार्टी प्यालेसमा नाचगान गर्नु त अहिले चलन जस्तै भएको छ ।

    पहिले जस्तो यस पर्वमा सामाजिक सद्भाव र मेलमिलापको अनुपम नमूना भने अहिले देखिदैन हुने खानेका लागि मात्र चाडवाड आएजस्थो हुन्छ । गीतमा पनि पनि रमाईलोपन हट्दै गएको छ र आधुनिकीकरण हुँदै छ श्रेष्ठले भन्नुभयो । तीजको अघिल्लो दिन खाइने दरले भोलिपल्ट ब्रतालु महिलालाई दिनभर ऊर्जा दिइरहन्छ भने तीजको अघिल्लो दिन राती दर खाने प्रचलन अहिले फेरिएर एक महिना अघि देखि खाने प्रचलन छ ।

    सुर्खेत घर बताउने मञ्जु क्षेत्रीको धारणा भने अन्यको भन्दा फरक छ । पाँच वर्षदेखि काठमाडौँमा तीज मनाएपनि आफूलाई गाउँकै तीज मन पर्ने बताउनुहुन्छ । सहरमा विकृति फैलिएको छ हुनेखानेका लागि मात्र चाडवाड जस्तो भएको छ । हिन्दू महिलाका लागि यो पर्व श्रीमान्सँगको सम्बन्ध सुमधुर बनाउने, पारिवारिक मेल बढाउने र साथीसङ्गी इष्टमित्रसँग भेट, सामाजिक सद्भाव र मेलमिलाप बढाउने एउटा माध्यमको रूपमा विकसित हुनुपर्ने भएपनि पछिल्लो समय अलि भड्किलो भएको क्षेत्री बताउनुहुन्छ । वास्तवमा समाजलाई व्यवस्थित र नियन्त्रित गर्न कुनै विश्वास, परम्परा संस्कृति तथा धर्मले एउटा बलियो संयन्त्रको रूपमा काम गर्नुपर्ने हो तर अहिले त्यो अवस्था छैन ।

    गाउँमा अहिले पनि तीज गीतमा गाउँले परिवेशका कुरा मात्र आउँछन् । शहरमा भने यसको मौलिक भाका बिस्तारै हराएको छ । तीज गीत मात्रै होइन तीज मनाउने तरिका पनि बदलिएको छ क्षेत्रीले भन्नुभयो । काठमाडौँ धेरै समुदायको मिश्रित बस्ती भएको शहर हो । यहाँ नेपालका धेरै समुदायको प्रतिनिधित्व छ । तराइको छठ होस् वा गौरा पर्व, विविध आदिवासी, जनजातिका विविध पर्व वा इन्द्रजात्रा, हिन्दू नारीहरुको तीज यहाँ सबैले मिलेरै मनाउने हुँदा सबैले आआफ्नो तरिकाबाट संस्कार र संस्कृति बचाएको संस्कृतिविद् डा गोविन्द टण्डनको भनाई छ ।

    उहाँ भन्नुहुन्छ,;काठमाडौँको तीजले सम्पूर्ण देशको प्रतिनिधित्व गर्दछ, यहाँ धनी र गरिब सबै छन् अनि विभिन्न जातजातिका नागरिकको बसोबास रही आएको छ । सोही अनुरुप तीज मनाउने हुँदा यहाँ अन्य शहर र गाउँमा भन्दा फरक विशेषता पाइन्छ । कुनै पर्व निश्चित जात, धर्म, पेशा, समुदाय, निश्चित भूभागका लागि मात्र बन्न नहुने र सबै नेपालीको साझा पर्वको रुपमा आत्मासात गरी त्यसको संरक्षणमा ध्यान दिनुपर्ने पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव समेत रहनुभएका डा टण्डनको भनाई छ । पूर्वमेचीदेखि पश्चिम महाकालीका सबै नारीको मुख्य पर्व हो तीज तर यो मनाउने तरिका फरक होला डा टण्डनले भन्नुभयो, यस पर्वको विषयमा विगतको परिवेश र आजको परिवेश फरक छ, विगतमा आमाहरुले वर्षभरिका दुःख र पीरलाई समेटेर गीतमार्फत पोख्ने गर्थे अहिले समय फेरिएको छ, समयको माग अनुरुप नै गीत बनाइएका छन् त्यसलाई अन्यथा मान्न मिल्दैन ।

    अहिलेका पुस्तामा पनि आफ्नो पहिचान रहेको धर्म संस्कृतिमाथि निकै गर्व र मौलिकताप्रति चासो बढेको देखिनु संस्कृतिको संरक्षणप्रतिको जोड हो, जुन मानव विकास र आत्मसम्मानको दृष्टिले राम्रो कुरा हो उहाँले भन्नुभयो । तीज पर्व मान्ने र दर खाने शैलीलाई महिलाका अधिकारसँग जोडेर यसप्रतिको आस्था, महत्व र गरिमालाई घटाउनेतिर नभई यसलाई परम्परागत मूल्य मान्यतालाई समयानुकूल रूपान्तरित र सहजीकरण गर्दै लाने विषयमा भने ध्यान दिनुपर्ने डा टण्डनको जोड छ । पञ्चमीका दिन ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास रहेको प्राध्यापक शिव गोपाल रिसाललको भनाई छ ।

    उहाँका अनुसार तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । प्राध्यापक रिसालले रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतिक मानिने रिसालले बताउनुभयो । रासस

    बिहिवार, भाद्र २४ २०७८०७:१५:३०

    डेमो खबर

    सम्बन्धित समाचार